चीनबाट नेपाली फिर्ता ल्याउन आयोगको निर्देशन

२७ माघ २०७६, सोमबार १०:५३

काठमाडौं, नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकलाई शीघ्र सुरक्षित रुपमा स्वदेश फर्काउने वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।

नेपाल फर्केकाका लागि दूतावासमार्फत आवेदन दिएका नागरिकलाई उद्धार गर्न ढिलाइ भएपछि आयोगले तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो।

आइतबार बसेको आयोग बैठकले हुबेईको वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य अवस्था र स्वदेश फर्काउन भइरहेको तयारीका विषयमा बुझ्न परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णयसमेत गरेको छ।

‘चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकले नोवल कोरोना भाइरसका कारण निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति र्नै संक्रमणको जोखिममा रहेका छन’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, चीनमा उक्त प्रान्तमा रहेका नागरिकको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशिल भई उनीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्कन वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गर्दछ।’

हुबेई प्रान्तमा रहेका एक सय ८५ जना नेपाली स्वदेश फर्कन चीनस्थित नेपाली दूतावासले निकालेको सूचनाका आधारमा फारम भरेका थिए।

नेपाल फर्कने तयारी हालतमा रहेको ती नागरिकको जीवनरक्षाको माग गर्दै आफन्तले ध्यानाकर्षण गराएपछि सरकारलाई आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउन शीघ्र पहल गर्न आयोगले निर्देशन दिएको हो।

यसैबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनबाट उद्धार गरेर ल्याइएकालाई भक्तपुरको खरीपाटीमा राख्ने सरकारको तयारीको विरोध गरेका छन्।

खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राख्नेगरी आवश्यक तयारी थालेपछि बिजुक्छेले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुलाई आफ्नो क्षेत्रमा नराख्न दबाब दिएका हुन्। (आजको नागरिक दैनिकबाट)