कमल थापाको राप्रपा देशव्यापी अभियान लिएर सात प्रदेशमा

२९ माघ २०७६, बुधबार ०९:५४

काठमाडौं , कमल थापा नेतृत्वको राप्रपाले आजदेखि संगठन सुदृढीकरण अभियान अन्तर्गत महाधिवेशन केन्द्रीत गतिविधिलाई औपचारिक रुपमा अघि बढाउने भएको छ । माघको तेश्रो हप्ता काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले पार्टी एकता कि महाधिवेशन भन्ने विषयमा महाधिवेशनको दिशातर्फ अघि बढ्ने टुंगो लगाउँदै संगठन निर्माणमा होमिएको छ । राप्रपाले सोही बैठकबाट आगामी जेठ २५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । विभिन्न निकायबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधिको व्यवस्थामा परिमार्जन गरि राप्रपाले पहिलोपटक प्रदेश सक्रिय सदस्य मध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने नयाँ व्यवस्था गरेको छ । यस सम्बन्धमा पार्टीको जिम्मेवार तहलाइ प्रशिक्षित गर्ने उद्देश्यले आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । पहिलो कार्यक्रम अन्तर्गत माघ २९ गते बागमती प्रदेश स्तरीय कार्यक्रम काठमाडौंमा हुँदैछ । यसैगरी फागुन ४ र ५ गते गण्डकी प्रदेशको पोखरामा, फागुन ६ र ७ गते पाँच नम्बर प्रदेशको दाङमा, फागुन ८ र ९ गते कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १० र ११ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा, फागुन १३ र १४ गते दुई नम्बर प्रदेशको जनकपुरमा र फागुन १५ र १६ गते एक नम्बर प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुने श्रेष्ठले बताए । सबै प्रदेशमा हुने अभिमुखीकरण र अगुवा कार्यकर्ता भेलालाई अध्यक्ष कमल थापा र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् । एक नम्बर प्रदेशको भने स्थान तय भइसकेको छैन । मुलतः सातवटै प्रदेशमा हुने अभिमुखीकरण कार्यक्रममा केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको निर्वाचन विनियमावली, निर्वाचन निर्देशिका र निर्वाचन कार्यतालिकाका बारे हरेक कमिटीलाई जानकारी दिने, संगठनको अवस्थाबारे जानकारी लिने उद्देश्य रहेको छ( महाधिवेशन प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक उपाध्यक्ष तोरण बहादुर गुरुङले भने ।
हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र र सुदृढ स्थानीय शासनको पक्षमा रहेको राप्रपाले पछिल्लो उप निर्वाचनमा नराम्रोसंग हार व्यहोर्नु परेपछि संगठन निर्माणलाई पहिलो प्राथमिकता दिदै पहिलो चरणमा कार्यकर्तालाई सक्रिय बनाउन लागिपरेको छ । २०७६ लाई संगठन निर्माणको वर्षको रुपमा घोषणा गरेको राप्रपाले सक्रिय सदस्य मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने नीति लिएपछि हरेक तह स्वभाविक रुपमा क्रियाशील हुने दाबी गरेको छ ।