आदेश आए १ महिनाभित्रै रेल गुड्छः रेल विभाग

१२ फाल्गुन २०७६, सोमबार १०:२४

काठमाडौं, भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं,’ उनले भने । विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ।

नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो। उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ। सो रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ। जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ।

डिजेलमार्फत चल्ने यस खालको रेलगाडी छोटो र मध्यम दूरीका लागि उत्तम मानिने डेमु (डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट) प्रविधिको हो। डिजल इन्धनबाट बिजुली उत्पादन गरी उत्पादित विद्युत्बाट चक्काहरूमा लागिएको ट्र्याक्सन मोटरहरूलाई इनराइज्ड गरी सञ्चालन हुने गर्दछ।

रेल सञ्चालनका लागि ऐन र कर्मचारी तत्काल आवश्यक रहेको महानिर्देशक मिश्रले बताए । ऐनको रूप दिन रेल्वे विधेयक संसद्मा दर्ता भई छलफलको क्रममा रहेको छ।

त्यस्तै अब कर्मचारी नियुक्त गरी रेल ल्याएर सञ्चालन गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ। यसका लागि विभागले केही दिनअघि अत्यावश्यक २६ जना कर्मचारी करारमा लिने गरी प्रक्रिया थालिसकेको छ।

तर रेल सञ्चालनका लागि २ सय बढी कर्मचारी आवश्यक रहेको विभागले जनाएको छ। चरणगत रूपमा कर्मचारी करारमा नियुक्त गरी रेल सेवा सञ्चालन गर्ने तयारी गरेको विभागका महानिर्देशक मिश्रले बताए । ‘पहिलो चरणका लागि अति आवश्यक कर्मचारी भनेर २६ जना मागिएको हो’, उनले भने, ‘दोस्रो चरणका लागि केही दिनमै सूचना निकाल्छौँ।’

नेपालले हाल सञ्चालन गर्न लागिएको रेल नेपालका लागि नयाँ रहेको छ। यसको सञ्चालनका लागि जनशक्ति नेपालसँग नभएको र व्यवस्थापन गर्नमा जोड दिइएको उनले बताए । (नेपाल समाचारपत्र)