सूचना तथा प्रविधि विधेयकमा केही पक्षले अनावश्यक भ्रम सिर्जना गरेः मन्त्री बाँस्कोटा

१७ पुष २०७६, बिहीबार १७:३१

काठमाडौँ , सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि विधेयकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायत केही पक्षले अनावश्यक भ्रम सिर्जना गर्ने काम गरेको बताउनु भएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले कानुन सबैका लागि बराबरी हुने भन्दै कानुनले कसैलाई विभेद गर्न नमिल्ने र नसक्ने पनि बताउनु भयो ।

उहाँले सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश हुने क्रममा रहेको उल्लेख गर्दै यसमा कुनै खराबी नरहेपनि भ्रमहरु छर्नेकाम गरिँदा अन्यौलता उत्पन्न भएको दावी गर्नु भयो ।
नेपालमा फेसबुक प्रयोगकर्ता ९० लाख र ट्वीटर प्रयोगकर्ता मात्रै ४० लाख रहेको बताउँदै मन्त्री बाँस्कोटाले यत्रो प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा नेपालमा दर्ता भएरमात्रै सञ्चालन गरिनुपर्ने कानुन बनाइनु गलत नुहने तर्क गर्नु भयो । अन्य मुलुकहरुमा पनि दर्ता गरेरमात्रै सञ्चालन गर्ने व्यवस्था रहेको बताउँदै उहाँले नेपालमा यही व्यवस्था गर्न खोजिएको बताउनु भयो ।