वैदेशिक रोजगारीपछि नेपालमै मृत्यु भए पनि ७ लाख सहयोग

७ माघ २०७६, मंगलवार १०:११

काठमाडौं, सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आई विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीसहित नजिकका हकवालाले आर्थिक सहायतास्वरुप जनही ७ लाख रुपैयाँ पाउने भएका छन् । (आजको कारोबार दैनिकबाट)