राष्ट्रिय सतर्कता केन्द्रको आफ्नै प्रयोगशाला

१५ माघ २०७६, बुधबार ११:१०

काठमाडौं, मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

केन्द्रले सिंहदरबारस्थित आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा। ऋषिराम शर्माले प्राविधिक परीक्षणहरूको थप विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी दिए । उनले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएसँगै केन्द्र थप प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गरे ।

काम सम्पन्न भइसकेका विकास आयोजनाहरूका निर्माण कार्य डिजाइन बमोजिम भएको छ छैन, गुणस्तर कायम भएको छ छैन, त्यसको परीक्षण गर्न निर्माण भएका आयोजनालाई नभत्काई÷नबिगारी परीक्षण ९नन डिस्टक्टिभ टेस्ट० गर्न सकिने उपकरणसमेत खरिद गरिसकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘प्रयोगशाला सञ्चालन तथा गुणस्तर परीक्षणसम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत भइसकेको छ । यसका लागि आवश्यक पर्ने ‘टेस्ट मेनुअल’ समेत तयार भइसकेकोे केन्द्रले जनाएको छ । परीक्षण गर्ने विधि तथा कुन एकाइमा कुन विधिले कसरी परीक्षण गर्ने लगायतका विषयवस्तु परीक्षण कार्यविधिमा समेटिएको छ ।

‘ल्याब टेक्निसियन’ र ‘ल्याब ब्वाइ’ लगायत प्राविधिक सहितका कर्मचारी लोक सेवा आयोगसँग माग गरिएको र प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउनका लागि करारमा प्राविधिक कर्मचारीसमेत नियुक्त गरिएको छ । केन्द्रले यसअघि भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्ने क्रममा सडक विभाग, इन्जिनियरिङ कलेजहरूका प्रयोगशाला प्रयोग गर्दै आएको थियो ।

आर्थिक वर्ष २०६५÷६६ देखि हालसम्म केन्द्रले ७१५ वटा प्राविधिक परीक्षण गरेको छ । सरकारद्वारा सञ्चालित पचास करोड रूपैयाँभन्दा माथिका आयोजनाहरूको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रले गर्ने गर्दछ । पचास करोडभन्दा तलका आयोजनाको समेत प्राविधिक परीक्षण केन्द्रले गर्नुपर्छ भन्ने माग केन्द्रले सरकारसमक्ष गर्दै आएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावली, २०६५ ले प्राविधिक परीक्षण गर्ने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको छ । यसै नियमावलीका आधारमा केन्द्रले परीक्षणको काम गर्दै आएको छ ।(आजको गोरखापत्र दैनिकबाट)