राजपालाई उपसभामुख दिने नेकपाको तयारी

१३ माघ २०७६, सोमबार १०:४६

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा रिक्त उपसभामुख राजपालाई दिन सहमत भएका हुन् । संसद्को बैठक बस्नुअघि दुई अध्यक्षबीच उपसभामुख पदमा राजपालाई समर्थन गर्ने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले प्रदेश २मा राजपासँग चुनावी तालमेल गरेको थियो। त्यसपछि भएको सभामुख निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका अग्नि सापकोटाको राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेका थिए । ९ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएका हुन्।

राजपालाई उपसभामुख पदमा सहयोग गर्ने विषयलाई भने नेकपाले औपचारिक रूपमा सचिवालय बैठकबाट पास गर्नुपर्ने भएकाले त्यसलाई बाहिर ल्याइएको छैन। ‘औपचारिक निर्णय नभएपनि उपसभामुख राजपालाई दिने विषयमा दुई अध्यक्ष सहमत भएका छन्’, बालुवाटारनिकट स्रोतले भन्यो।

पुस २ गते सत्तारुढ नेकपा र राजपाबीच दुई बुँदे सहमति भएको थियो। त्यसयता यी दुई दलबीच सहकार्य हुदै आएको छ। निर्वाचनमा सहकार्य गर्ने र राष्ट्रिय मुद्दाहरूमा दुई पार्टीबीच नियमित छलफल गरेर सहकार्य गर्ने सहमति गरेको थियो। राष्ट्रिय सभा निर्वाचनमा नेकपाले प्रदेश २ मा राजपालाई सघाउने सहमतिपत्रमा उल्लेख थियो। सहमतिपत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल तथा राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका थिए ।

तर, राजपा नेता महतोले सत्तारूढ नेकपासँग उपसभाुमखको विषयमा कुराकानी नभएको दाबी गरेका छन्। नेकपासँग बहुमत रहेकाले उसले जुन पार्टीलाई प्रस्ताव गर्छ, उसैले उपसभामुख पाउने जनाउँदै महतोले संसद् भवन नयाँ बानेश्वरबाहिर सञ्चारकर्मीसँग भने, ‘फरक पार्टी फरक लिंगलाई दिनुपर्ने हो। उहाँहरूको बहुमत छ, जुन पार्टीलाई प्रस्ताव गनुहुन्छ, सो पार्टीको पाउँछ।’ आफूहरुले उपसभामुखका लागि दाबी नगरेको बताउँदै उनले भने, ‘दियो भने त ठीकै छ, धन्यवाद दिउँला ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपभामुखमा आफ्नो स्वभाविक दाबी रहने जनाउँदै आएका पनि सभामुख निर्वाचनका लागि आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मीनेन्द्र रिजालले आफ्नो दल कमन्डलु लिएर सभामुख माग्न नहिँढ्ने दाबी गरेका छन्।(आजको नागरिक दैनिकबाट)