पोखरामा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

२२ पुष २०७६, मंगलवार १३:४८

काठमाडौं , न्यु डायमन्ड स्पोर्टस क्लबले राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । खेल यही पुस २३ देखि २६ सम्म पोखराको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने छ । मुख्य प्रायोजक होङ्ग्वान्जी बौद्ध समाज रहेको जनाइएको छ ।

प्रतियोगितामा विजेताले नगद ४ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनले ५१ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको सर्वोत्कष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर ब्लकर, क्विकर, सेटर सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा नेपाल एपीएफ क्लब, न्य डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, त्रिभुवन आर्मी क्लब, पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट २६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।