नेकपाको बन्धक बन्यो संसद्

१६ पुष २०७६, बुधबार ०९:२६

काठमाडौं,सत्तासीन नेकपाले सभामुख चयन गर्न नसकेपछि संसद् फेरि बन्धक बनेको छ। सभामुख कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी परेपछि संघीय संसद् बैठक १० दिनका लागि स्थगन गरिएको हो।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ। पूर्वएमालेका नेताहरूको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन्। पूर्वएमालेका वरिष्ठ नेताहरूले पनि पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने दाहालको अडानमा साथ दिएको स्रोतले बतायो ।

सभामुखका विषयमा मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दाहालबीच बालुवाटारमा पहिलोपटक ‘व्यक्तिमा केन्द्रित’ भएर छलफल भएको थियो।

दाहालले सभामुख पद पूर्वमाओवादीलाई नै दिनुपर्ने अडान राखेको उच्च स्रोतले बतायो। प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन प्रयास गरेका थिए। तर दाहालले ‘इन्कार’ गरेको स्रोतले बतायो।

‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष जस्ता महत्वपूर्ण सबै पद पूर्वएमालेले लिएका बेला सभामुख पनि पूर्वएमालेलाई दिँदा आत्मसमर्पण गरेको जस्तो हुन्छ,’ पूर्वमाओवादी सम्बद्ध नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘पूर्वएमालेका वरिष्ठ नेता पनि यस विषयमा ‘कन्भिन्स’ हुनुहुन्छ। अध्यक्ष दाहाल सभामुख पद छोड्ने पक्षमा हुनुहुन्न।’

सरकारमा समेत प्रधानमन्त्री र उपप्रधानमन्त्री पूर्वएमालेको भागमा रहेकाले पूर्वमाओवादीको तेस्रो स्थान मात्र रहेको ती सदस्यले बताए।

नेम्वाङका पक्षमा सचिवालयमा समेत बहुमत पुग्ने पूर्वमाओवादी नेताहरूको दाबी छ। ९ सदस्यीय सचिवालयमा पूर्वएमालेका झलनाथ खनाल, वामदेव गौतम र माधव नेपाल नेम्वाङका पक्षमा नरहेको स्रोतले बतायो। खनाल र गौतम प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।(आजको अन्नपूर्ण पोष्टबाट)