गृहमन्त्री थापा चीन प्रस्थान

२० पुष २०७६, आईतवार १२:२५

काठमाडौं , गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गर्नु भएको छ । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ आइतबार बिहान बेइजिङ प्रस्थान गर्नु भएको हो । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनु भयो । मन्त्री थापाका टोलीमा सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी हुनुहुन्छ । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।