गणतन्त्र स्मारक जेठ १५ देखि खुला गरिने

५ माघ २०७६, आईतवार ०९:४२

काठमाडौं,आगामी गणतन्त्र दिवसको दिन अर्थात् २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ।

सरकारले स्मारक नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने गरी तयारी शुरू गरिएको हो।

निर्माण सम्पन्न भएको सात वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तीमा पनि तीन महिना लाग्ने भएकाले सोहीअनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण सुरु गरेको थियो।

आउँदो गणतन्त्र दिवसका दिन सो स्मारक सर्वसाधारणका लागि खुला भएपछि नारायणहिटी संग्रहालय परिसरमा निर्माण भएको शहीद स्मारकमा राष्ट्रिय शहीद दिवसको दिन शहीदप्रति सम्मान गर्ने व्यवस्था गर्न लागिएको छ।

गणतन्त्र आउनुअघि शहीद गेटमा रहेका चार शहीदको सालिकमा सम्मान गर्ने गरिन्थ्यो। गणतन्त्र आएपछि लैनचौरस्थित शहीद स्मारकमा सम्मान गर्ने कार्यक्रम राखिँदै आएको छ।

स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने स्थलका रूपमा विकास गरिने पनि आदेशमा उल्लेख छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी शहीदप्रति सम्मान व्यक्त गर्न यही स्तम्भमा पुग्ने व्यवस्था गठन आदेशमा उल्लेख छ। (नेपाल समाचारपत्र)