खराब कर्जा लुकाउन मेगा बैंकको बेइमानी

३ माघ २०७६, शुक्रबार १२:२४

काठमाडौं, मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई पटक–पटक ‘ओभर ड्राफ्ट’ दिएर ऋण नवीकरण गरेको पाइएको छ।

यति मात्र होइन, बैंकले दुई पक्षबीच एकार्काको ऋण सकार्ने सम्झौता भइसकेको अवस्थामा मिलेमतोमा अर्को ऋणीको जग्गा धितोमा ऋण निकासा गरी जालसाजी गरेको खुलेको छ।

म्हैपीस्थित एक उद्यमी मेगाकै कारण साढे १९ आना जग्गा गुमाउने अवस्थामा पुगेका छन्। उनको जग्गा मेगाले लिलामी गर्दै छ। ऋण नतिरेर होइन, मेगाको जालसाजीका कारण।

उत्तम कुमारले सञ्चालन गरेको ग्लोबल माउन्टेन आउटवेयर उद्योग तथा यसको नाममा रहेको म्हैपीको २० आना जग्गा र ८ करोड रुपैयाँ मेगाको ऋण भुमादेवी गौतमले २०७४ मंसिर २९ मा सट्टापट्टा गर्ने सम्झौता भयो।

त्यसअनुसार सामाखुसीको साढे चार आना जग्गा र प्रभु बैंकमा भुमादेवीका नाममा रहेको १ करोड २१ लाख ऋण उत्तम कुमारले सकार्ने लिखित सम्झौता थियो।

उत्तम कुमारले सम्झौताको एक सातामै भुमादेवीका नाममा जग्गा, उद्योग र ऋण हस्तान्तरण गरे। जसको रोहबरमा थियो मेगा। किनकि, उत्तम कुमार मेगाका ऋणी थिए।

उनले उद्योग र जग्गा दिएर ठूलो ऋणको बोझ बिसाउन चाहेका थिए। प्रभुमा रहेको भुमादेवीको ऋण तिर्न उत्तम कुमारका नाममा १ करोड ५० लाख रुपैयाँ मेगाबाट ऋण स्वीकृत भयो।

दुवै जना मेगाका ग्राहक भए, बैंकलाई ऋण सकार्ने सम्बन्धमा जानकारी गराए। तर, यही बीचमा उत्तम कुमारलाई दिने भनिएको सामाखुसीको जग्गा धितोमा बैंकले बदमासी गरी कर्जा थपिदियो।

उत्तम कुमारले आफ्नो उद्योग, म्हैपीको साढे १९ आना जग्गा र मेगाको ८ करोड ऋण भुमादेवीका नाममा सारे। मेगाले उक्त जग्गा र कारोबार सट्टापट्टाबारे जानकारी हुँदाहुँदै भुमादेवीको सामाखुसीकै जग्गा धितोमै थप ऋण दियो।

मेगाले जालसाजी गरी भुमादेवीको घरजग्गा धितोमा ऋण थपिदिएकाले उक्त सम्पत्ति उत्तम कुमारका नाममा भने हस्तान्तरण भएन।

मालपोत कार्यालयमा बुझ्दा मेगाले उक्त जग्गामा भुमादेवीलाई थपेर ३ करोड ४० लाख ऋण दिएको देखियो। त्यसपछि उत्तम कुमार प्रहरीको अपराध महाशाखा टेकु पुगे।

बैंक र भुमादेवीबीचको मिलेमतो देखिएपछि प्रहरीले गत जेठ २९ मा ठगीमा काठमाडौं जिल्ला अदालतमा फौजदारी मुद्दा दायर ग¥यो।

प्रहरीले अनुसन्धानका क्रममा ग्लोबल माउन्टेन आउटवेयरको म्हैपीको ८२ र २ नम्बर कित्ता अनि सामाखुसीको २३२ नम्बर कित्तामा कति–कति ऋण छ, खुलाई पठाइदिनू भनेर सोधेकामा झन्डै ८ करोड ऋण दिएको देखियो।

अदालतको स्वीकृति लिएर प्रहरीले भुमादेवीलाई असार ८ मा पक्राउ गरी थुनामा राख्यो। उनी थुनामा रहँदै असार १८ मा थप ८५ लाख रुपैयाँ ओभर ड्राफ्ट दिएर थप कर्जा नवीकरण ग¥यो।

यसलाई वित्तीय क्षेत्रको भाषामा ‘लोन इभरग्रिनिङ’ भनिन्छ। बैंकले यस्ता व्यक्तिलाई ऋण दियो, भुमादेवी र उनका श्रीमान् गुरुदत्त पौडेल जेठ २९ मै कालोसूचीमा परेका थिए। कालोसूचीमा परेपछि एकाघर परिवारका नाममा ऋण दिन र नवीकरण गर्न पाइँदैन। असार १९ मा एकै दिन उक्त ऋणीको खाताबाट ८५ लाख रुपैयाँ झिकेको पाइयो।
(आजको अन्नपूर्ण पोष्टबाट)