को हुन् सभामुख उम्‍मेदवार सापकोटा ?

६ माघ २०७६, सोमबार १०:५१

काठमाडौं, नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार बनाएको छ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभाले सभामुख पाउने बाटो खुलेको छ। जहाँ सापकोटा नै सभामुख बन्ने पक्कापक्की भएको छ ।

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो। साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका थिए । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका थिए।

२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए।

समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे । सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।

२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका नेता हुन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन्।(आजको अन्नपूर्ण पोष्टबाट)