एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्नः देउवा

६ माघ २०७६, सोमबार १०:३३

दाङ, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्।

उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो।

आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए।

आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो। ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो,’ उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन।’

‘नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए। ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन,’ उनले भने, ‘सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ।’

फरक प्रसंगमा देउवाले पार्टीभित्रको विवादको कारक आफू नभएको बताए। पार्टीका कसैलाई पनि आफूले चिढ्याउने काम नगरेको भन्दै देउवाले पार्टीभित्रको विवादको दोषी आफूलाई देख्न नहुनेसमेत वताए।

‘म कसैसँग पनि रिसाएको छैन, न त मैले कसैलाई पेलेर जाने काम नै गरेको छु,’ उनले भने, ‘रिसाउनेहरू किन रिसाएका छन् भन्ने उनीहरूलाई नै सोध्नुस्, म बाट एकलौटी काम केही पनि भएको छैन।’ (आजको नागरिक दैनिकबाट)