इराकमा रहेका नेपालीको बंकरमा बास

२४ पुष २०७६, बिहीबार १०:३४

काठमाडौं, बुधबार इरानले इराकस्थित अमेरिकी सेनाको बेसक्याम्पलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरूले रातभर त्रासदीूर्ण परिस्थितिको सामना गर्नुपर्‍यो । अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे ।

बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ बजेर ४५ मिनेटमा सही सावित भयो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो । ‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरू भने निकै डराए ।’

क्षेत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका थिए । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल असाद क्याम्प बग्दादबाट झन्डै एक सय ६० किमि टाढा पर्छ ।

‘बंकर निकै सुरक्षित ढंगले बनाइएको छ । यो कडा हुन्छ । फलामे रडमा सिमेन्ट लगाइएको हुन्छ । त्यसको माथि बालुवा र माटोको बोरा राखिएको हुन्छ । यति बलियो भएपछि केही हुँदैन भनेर ढुक्क थियौं । सोचेको जस्तै भयो । हामीलाई केही भएन । साथीहरूको मनबाट डर हट्न भने निकै समय लाग्यो,’ उनले भने, ‘बिहान ७ बजेसम्म हामीलाई बंकरमा राखियो ।’

उनीहरू रातभर सुत्न सकेका थिएनन् । ‘सेनालाई सहयोग गर्नका लागि विभिन्न कम्पनीले झन्डै ५ सय जनालाई काममा लगाएको छ । हाम्रो समूहमा ९ जना छन् । यही क्याम्पको अन्य ठाउँमा नेपाली छन् कि छैनन् थाहा छैन,’ उनले भने, ‘मानवीय क्षतिबारे जानकारी भएन ।’

बंकरबाट उनीहरूलाई क्याम्पमा लगेर राखिएको छ । क्याम्पभित्र क्षति पुगेको छैन । मिसाइल खसेको ठाउँमा जान दिइएको छैन । ‘बेस क्याम्पलाई लक गरिएको छ । जो जहाँ छ, त्यहीं बस्ने हो । यताउति जान दिइएको छैन । काम बन्द छ,’ उनले भने, ‘हामी कम्पनीको सूचनालाई पर्खेर बसेका छौं । यहीं राख्छ कि बाहिर लगेर राख्छ यकिन भएको छैन ।’ त्यस क्याम्पमा नेपालीहरूले इन्टरनेटको सेवा दिने, कपाल काट्ने र कफी बनाइदिने काम गर्छन् । (आजको कान्तिपुरमा खबर छ)