अझै पाएनन् उखु किसानले ५९ करोड १६ लाख ५४ हजार भुक्तानी

६ माघ २०७६, सोमबार १०:३८

काठमाडौं, सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् ।

गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो ।

तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो ।

भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए ।

७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो ।

सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनुपर्नेछ ।

चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको छ ।

आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांकअनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी सातवटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बाँकी बक्यौताको आधा चौथाइ भुक्तानी गरेका छैनन् । (आजको राजधानी दैनिकबाट)