भान्सा सुरक्षाः सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ

१४ पुष २०७६, सोमबार १०:२०

काठमाडौं, सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।

बालाजुकी एक गृहिणी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हालिन् । त्यही समयमा श्रीमानको फोन आएपछि उनी त्यसैमा व्यस्त भइन् । भान्छामा त तेल डढेर आगो बल्न थालिसकेछ ।

हतारहतार आगो निभाउन कपडाले हानिन् । तर आफूतिर नै आयो, त्यही समय घरमा पालेको कुकुरले नतानेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।

आचार्य भने, ‘आगो लाग्दा केही वस्तुले हानेर आगो निभाउन खोज्नु गल्ती रहेछ । पछि ग्यासको रेगुलेटरको स्विच बन्द गरेँ । आगो निभ्यो तर नयाँ प्रेसरकुकर डढेर कालो बन्यो । सामान्य कुरामा ध्यान नदिँदा झन्डै ठूलो दुर्घटना भयो ।’

यस्तै अर्को घटना बसुन्धराकी गृहिणी सुशीला पन्तले व्यहोर्नु पर्यो । उनी दूध तताउँदै बच्चालाई पढाउन थालेका थिए । भान्छाको काम बिर्सिइन् । त्यसैबेला दूध उम्लेर भाँडा पूरै कालो भइसकेको थियो ।

उनी भनिन्, ‘हतारहतार पानी छ्यापेँ तर ग्यास भने निभाउन भुलेछु । ग्यास चुलो पानीले निभेका कारण पत्तो नै भएन । सानो छोराले ग्यासको रेगुलेटर बन्द गरेर सबै झ्यालढोका खोलेपछि ग्यासको गन्ध अलि हरायो ।’

यस्ता घटना त उदाहरण मात्रै हुन् । यस प्रकारका घटना दैनिकजस्तो हरेक घरमा भई नै रहेको पाइन्छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए ।

ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुन्छ ।

गाच्छा थप्छन्, ‘आगोका स्रोतहरू कहाँ छन्, त्यो पत्ता लगाउनुपर्छ । भान्छा भन्नेबित्तिकै आगोसँग सम्बन्ध हुन्छ । विद्युतीय वा ग्यास उपयोगी वस्तु हुन्, जसको माध्यमबाट नै सम्पूर्ण खाना पाक्ने हो ।’

गाच्छाले भने, ‘ग्यास वा विद्युतीय साधन प्रयोग गर्न जान्यौँ भने धेरै सुविधा दिन्छ तर प्रयोग गर्न जानेनौं भने त्यसले क्षति निम्त्याउँछ । आगो लागिहाल्यो भने पानीले निभाउने भन्ने हाम्रो धारणा छ, विद्युतीय सामान जस्तै राइसकुकर, इन्डक्सनजस्ता सामानमा सर्ट भएको खण्डमा पानी प्रयोग ग¥यो भने झन् ठूलो क्षति हुन्छ ।’

यस्तो अवस्थामा कहाँबाट सर्ट भएको हो, त्यो जान्नुपर्छ र विद्युत्को मुख्य स्विच बन्द गर्न र ग्यास लिकेज हुँदा पनि पानी प्रयोग नगर्न उनको सुझाव छ । ग्यासबाट हुने आगलागीमा पानीले निभ्दैन, यस्तो अवस्थामा ‘फायर ब्लाङकेटिङ’ प्रयोग गर्नुपर्छ ।(आजको गोरखापत्र दैनिकबाट)