प्रधानसेनापतिले किन भेटे फणीन्द्र नेपाललाई ?

११ पुष २०७६, शुक्रबार १५:१५

काठमाडौं ,नेपाली सेनाको तदर्थवादी प्रवृत्तिको कडा आलोचना गर्दै यो नेपाली सेना होइन भारतीय नेपाली सेना हो भन्दै आएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले हिजो साँझ ४ः३० बजे भेटेर करिब १ घन्टा कुराकानी गरेको खुलासा भएको छ । अभियन्ता नेपालले आफ्नो फेसबुक वालमा हिजो साँझ नेपाली सेनाका प्रधानसेनापति जनरल श्री पूर्णचन्द्र थापासँग भेटवार्ता भएको उल्लेख गरेका छन् । उनले प्रधानसेनापतिलाई भेटेपछि हामीले साँच्चिकै गर्व गर्न लायक प्रधान सेनापति पाएका रहेछौँ भन्दै प्रधान सेनापतिको खुलेर प्रशंसा गरेका मात्रै होइन उनको नेतृत्वमा नेपाली जनता सुरक्षित रहने पूर्ण विश्वास पनि व्यक्त गरेका छन् ।
उनले आफ्नो वालमा लेखेका छन् ।

प्रधान सेनापतिज्यूले मसँग उहाँको कार्यकक्षको ढोकानिरै हात मिलाउनुभयो । हात मिलाएपछि मैले म मेरो देशको प्रधानसेनापतिलाई सलाम गर्छु भनेर उहाँलाई सलाम गरेँ । त्यसपछि हामीले एकअर्काको सम्मुख भएर कुराकानी गर्यौँ । उहाँले मसँग औपचारिक होइन वास्तवमै भेट्न चाहनुभएको रहेछ भन्ने कुरा वार्तालापका क्रममा थाहा भयो । हामीले नेपाली राष्ट्रियताका सबै आयाममा आधारित भएर कुरा गर्यौँ । उहाँले कुनै कुरा लुकाउनुभएजस्तो लागेन । मैले खलंगा भ्रमणको सान्दर्भिक अर्थ उहाँलाई बताएँ । नेपाली र भारतीय सेनाका प्रमुखले एकअर्काको देशको सेनाको मानार्थ प्रमुख हुने परम्परा भारतका निम्ति रणनीतिक महत्त्वको भए पनि नेपालका निम्ति बिलकुलै उपयोगी नहुने भन्ने मेरो टिप्पणीदेखि राज्यको सीमा सरोकारका सवालमा नेपाली सेना कसरी आकाशबाट जमिनमा चिलले हेरेझैँ दृष्टि दिइरहेको छ भन्नेसम्मका विषयमा कुराहरू भए । कतिपय कुरा उहाँले मलाई ज्यादै विश्वास गरेर भन्नुभएको हुँदा अरू (शत्रुपक्ष) लाई रणनीति बदल्न सजिलो पार्ने गरी सार्वजनिक नगर्नु नै उपयुक्त हो भन्ने लागेको छ ।
मैले सुनेजस्तो अरू सैनिक अधिकृतलाई राखेर होइन नितान्त उहाँ र मेराबीचमात्र कुराहरू भए । हिजो साँझ भएको करिब १ घन्टा लामो कुराकानीपछि मलाई लाग्यो , हामीले साँच्चिकै गर्व गर्न लायक प्रधानसेनापति पाएका रहेछौँ । मलाई पूर्ण विश्वास छ , उहाँको नेतृत्वमा हामी नेपाली पूर्णरूपमा सुरक्षित रहनेछौँ