नेपालका कर्मचारी जस्ता अटेरी अरु कोही छैनन्ः माधव नेपाल

११ पुष २०७६, शुक्रबार १७:४२

काठमाडौं , नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार दृढताका साथ अघि बढ्न नसकेको गुनासो गर्नु भएको छ । शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी वन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने, हड्प्ने प्रवृत्तिको अन्त्य गर्न सरकार दृढताका साथ अघि बढ्न नसकेको बताउनु भएको हो ।

बद्‍मासी र कानुन उलंघन गर्नेविरुद्ध राज्य दृष्ढताकासाथ अघि बढेमा जनताको पनि साथ पाउने भन्दै उहाँले सार्वजनिक जग्गा, वन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने बताउनु भयो । विभिन्‍न ठाउँमा गुठीको नाममा होस्, बालुवाटारको नाममा होस्, नेपाल ट्रष्टको नाममा होस्, जुनसुकै ठाउँमा पनि राज्यलाई नोक्सान पुग्ने र बद्मासी कसैले गरेको छ भने त्यसलाई दण्डित गर्न राज्य दृढताका साथ अघि बढ्नु पर्ने बताउनु भयो । शक्तिशाली सरकार भएकाले बनमाफियासँग मिलेमतो गर्नेलाई सजाय दिलाउन अनुकूल वातावरण रहेको भन्दै उहाँले दीर्घकालीन सोचसहित अघि बढ्न सरकारलाई सुझाव दिनु भयो । कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि उहाँले उल्लेख गर्नु भयो ।