कार्यालय नजिकै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

३ पुष २०७६, बिहीबार १३:५९

रुकुम पश्चिम , आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ ।

बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी माथि कार्यालय नजिकैको राडी बजारमा आक्रमण भएको हो ।

आक्रमणमा परेका केसीको टाउकामा ४ वटा टाँका लगाइएको छ । उहाँसँगै रहनु भएका सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि आक्रमण भएको जनाइएको छ ।

आठबीसकोट नगरपालिका ३ का गोपाल विकले केसीमाथि आक्रमण गरेको बताइएको छ । गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकका भाइ हुन् ।

आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्र्सना गर्नुभएको छ । उपप्रमुख नेपालीले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । दुई तीन दिनदेखि आक्रमण गर्ने गोपाल विकले पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति जारी गरेर वडा नम्बर ३ का अध्यक्षको योजनालाई लिएर कार्यकारी अधिकृतमाथि आक्रमण भएको बताएका छन् । दोषीमाथि कारबाहीको माग गर्दै कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।

सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । टाउकामा चोट लागेका केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । (उज्यालो अनलाइनबाट)