सुन तस्करी काण्डः थप दुई जना पक्राउ

१८ कार्तिक २०७६, सोमबार १८:२३

सखुंवासभा , भोटखोला गाउँपालिका २ को घट्टेखोलामा गएको असोज २७ गते पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेको बयानको आधारमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका १ का जर्का भोटे र भोटखोला गाउँपालिका घर भइ खाँदबारी बस्दै आएका छ्याङरिन्जीन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीकाअनुसार तोप्चेनको बयानको आधारमा उनीहरु दुवै जनालाई प्रहरीले खाँदबारीबाट पक्राउ गरेको हो ।

प्रहरीले गएको असोज २७ गते मकालु गाउँपालिका ४ घर भइ खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा राखिएको छ । उनको बयान लिने काम भैरहेको र बयानका आधारमा ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।