सुन्तलाका बोक्राका औषधीय गुण

१२ मंसिर २०७६, बिहीबार ११:४२

सुन्तला भिटामिन सि को भण्डार भएको फल हो । यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ । तर यसका औषधीय गुणहरु पनि छन् ।

यदि कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हट्छ ।

सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा शरीरको छाला चम्किलो तथा नरम बन्छ ।

अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हट्छ ।

सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी हुन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएकाहरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदाजनक हुन्छ ।

निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ । नेपाली हेल्थबाट