राष्ट्रिय समस्या सम्बोधन गर्ने प्राथमिकता चयनमा सरकार चुकेको छः वरिष्ठ नेता दिपक बोहरा

४ मंसिर २०७६, बुधबार २१:०४

भैरहवा , राप्रपा वरिष्ठ नेता दिपक बोहराले मन्त्रीमण्डल विस्तार र प्रधानमन्त्रीको सचिवालय हेरफेरमा महिनौं अल्झेर राष्ट्रिय समस्याको सम्बोधन गर्ने प्राथमिकता चयनमा सरकार चुकेको बताउनु भएको छ । आज रुपन्देहीको भैरहवामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बोहराले भारतले नेपालको भूभाग समेटेर एकतर्फी रुपमा जारी गरेको राजनीतिक नक्साले सिर्जना गरेको समस्यालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा हलुका ढंगबाट प्रस्तुत भएको आरोप लगाउनु भयो ।


नेता बोहराले उप निर्वाचनको परिणामले नयाँ सरकार बन्ने र भत्कने अवस्था नरहेको तर निर्वाचनको माध्यमबाट आउने ताजा जनादेशवाट देशको वर्तमान अवस्था प्रतिबिम्बित हुने भएकाले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सनातन धर्मको रक्षा गर्दै समृद्धिको एजेन्डा बोकेको राप्रपालाई मतदान गर्न पनि आव्हान गर्नु भयो ।
नेता बोहराले बन्दुक बिना पनि परिवर्तन सम्भव रहेको र राप्रपा त्यसै दिशामा केन्द्रीत रहेको बताउनु भयो ।