भारतीय अभिनेत्री वेदिका बलिउडमा

५ मंसिर २०७६, बिहीबार १०:१०

मुम्बई , दक्षिण भारतीय अभिनेत्री वेदिका कुमार बलिउड प्रवेश गर्ने भएकी छन् । वेदिका ‘द बडी’ चलचित्रमार्फत् बलिउड इन्ट्री गर्न लागेकी हुन् । जीतु जोसेफको निर्देशनमा रहेको उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा इमरान हाशमी रहेका छन् । जीतु २०१३ मा प्रदर्शित ‘दृश्यम्’ को निर्देशन गरेका थिए ।

अभिनेत्री वेदिका पनि बलिउडमा प्रवेश गरेसँगै दर्शक स्रोताको रोजाइमा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हुन त वेदिका दक्षिण भारतीय चलचित्रमा चर्चित नाम हो । उनले मलयालम, तेलुगु, तमिललगायतका भाषामा बनेका चलचित्रमा अभिनय गरेकी छन् । बलिउड प्रवेशका बारेमा अभिनेत्री वेदिका भन्छिन्, ‘म राम्रो प्रोजेक्टको पर्खाईमा थिएँ । ‘ उनले भनिन्, ‘इमराम निकै ट्यालेन्ट अभिनेता हुन् । उनीसँग काम गर्न पाउँदा निकै खुसी छु ।