न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार होः चिकित्सक संघ

२३ कार्तिक २०७६, शनिबार १९:५४

काठमाडौँ, नेपाल चिकित्सक संघले आवश्यकताका आधारमा बिरामीलाई आहारपुरक खाद्य पदार्थ (फुड) न्युट्रास्यिुटिकल्स तथा डायटरी सप्लिमेन्ट प्रेस्काइव गर्ने अधिकार डाक्टरसंग रहेको दावी गरेको छ ।

कतिपय उपभोक्तावादी संस्था तथा सरोकारवालाले चिकित्सकहरुले अनावश्यक रुपमा आहारपुरक खाद्य पदार्थ प्रेस्काईव गरी बिरामीलाई अनावश्यक आर्थिक भार पार्ने काम गरेको आरोप लगाइरहेका बेला संघको यस्तो धारणा सार्वजनिक भएको हो ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज विज्ञप्तीमा चिकित्सकहरुले खाद्य ऐन २०३३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका आहार पुरक खाद्य पदार्थ विरामीको रोग उमेर र आवश्यकता अनुसार सिफारिस हुने गरेको बताइएको छ ।

उनले विज्ञप्तीमा त्यसरी सिफारिस गरिएको आहारपुरक खाद्य पदार्थ स्वास्थ्य उपचारमा सहयोगी सावित हुने भएकोले अन्तराष्ट्रिय मान्यता अनुरुप सिफारिस गर्दै आएको बताएका छन् ।

यता औषधि व्यवस्था विभागले भने न्युट्रास्यिुटिकल्स विक्री वितरणलाई निरुत्साहन हुने गरी औषधि पसलमा त्यस्ता बस्तु राख्न र विक्री वितरण गर्न नपाइने बताएको छ ।

चिकित्सक संघले ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्यो फूड सप्लिमेन्ट्स सिफारिस नगर्नु भनि चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको प्रष्ट पारेको छ । संघले अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न समेत सूचित गरेको छ ।