खोरमा परेको चितुवा नियन्त्रणमा

२६ कार्तिक २०७६, मंगलवार १२:०१

दमौली ,आज बिहान तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा लिएको हो ।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “खोरमा परेर चितुवा नियन्त्रणमा आएको उक्त चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

उक्त नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो । काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन । भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ डा नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।