उपनिर्वाचनमा हाम्रो जित सुनिश्चित छः अध्यक्ष दाहाल

१९ कार्तिक २०७६, मंगलवार १५:१८

राँझा , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताउनु भएको छ । प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।

‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ’, उहाँले भन्नु भयो , ‘यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनिहरुमाथि सम्मान गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नु भयो, ‘अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।’

पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पुर्याउने अभियानमा लागेको उल्लेख गर्दै उहाँले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गर्नु भयो । ‘उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ’, अध्यक्ष दाहालले भन्नु भयो, ‘उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ ।’