दिशाहीन राजनीति

२० आश्विन २०७६, सोमबार १३:२१

बिष्णुप्रसाद शर्मा,

नेपाली राजनीतिको गति सहि तरिकाले अगाडी बढन सकेको छैन । जसले गर्दा नेपाली जनताले दुख्ख भोग्नु परिरहेको छ । राजनीतिक दल र तिनका नेताहरुले नेपाली जनता र देशका लागी कुनै पनि राम्रा काम गर्न सकेका छैनन् । नेताहरूले आफनो स्वार्थ , विदेशीको प्रभाव र दबाबमा काम गरिरहेका छन । यसले देशको हित गदैन । नेताहरूले निर्वाचनका मुखमा जनतालाई भ्रममा पार्ने बाहेक अरु केहि काम गर्न सकेनन् । त्यसैको परिणाम अहिले राजनीति दिशाहीन बन्न पुगेको छ । राजनीतिक दलहरुले निर्वाचनका समयमा अनावश्यक र हावादारी नारा दिएर भोट बटुल्ने काम गरे तर सरकारमा गए पछि जनताका कुनै काम गर्न सकेनन् । यो नै बिडम्वना हो । सरकार गठन गरेपछि पर्दापछाडिका अवाञ्छित शक्तिको दबाब र प्रभावका आधारमा सत्ताको दुरुपयोग गर्ने काम बाहेक अरु के भएको छ ? सरकार जनताका लागि कहिल्यै भरोसायोग्य बन्न सकेन।

ठूला दुई देशका बीचमा रहेको नेपालमा सधैं किन राजनीतिक खिचातानी मात्र हुने गर्छ ? किनकि योे देशको राजनीति नै भ्रष्टाचारमय हुँदै गएको छ । राजनीतिमा भ्रष्टाचार कसले, किन र कसरी घुलमिल गराइरहेको छ ? यस विषयमा परिणाममुखी छलफल हुन किन सकिरहेको छैन ?

नेपालको राजनीति किन यस्तो अवस्थाबाट गुज्रिँदै गएको छ ?
नेपालको पहिचान जोगाउनेभन्दा पनि आफ्नो हैसियत जोगाउने, बढाउने तात्पर्यले ल्याइएको संविधानबाट नेपाली पहिचान गुमेको हुँदा संविधानमा नेपालको पहिचान सुनिश्चित गर्ने अभियानमा नेपाली जनता जुट्नुको विकल्प छैन।

अहिलेका शासक मुलुक र जनताप्रति समर्पित छैनन्। जसरी भए पनि चुनाव जितौं, सत्तामा जाऔं र कमाऊँ। नकमाई चुनाव जित्न नसकिने र चुनाव नजिते कमाउधन्दा गर्न नपाइने उनीहरुको चिन्ता छ । उनीहरुलाई देशको चिन्ता पटक्कै छैन । नेतृत्वपंक्तिमा बढ्दै गएको चरित्रहीनताका कारण जनताको मनोबल खस्किँदै गएको छ। राजनीतिमा असल मानिसको पहँुच दुर्लभ हुने क्रम जारी छ। यो अवस्थामा देशलाई कसले उँभो लगाउन सक्छ ? यो नै हाम्रो चिन्ता हो ।

सरकार बलियो भए पनि निकम्मा सावित भइसकेको छ। यसले संसद्मा भएको दुईतिहाइको शक्तिलाई पटकपटक दुरुपयोग गर्ने प्रयास गरेको छ। संसद्का सदस्य सार्वभौमसत्तासम्पन्न जनताको प्रतिनिधि भएजस्तो समेत देखिएका छैनन्। संसद्मा खुलेर जनताका पक्षमा छलफल गर्ने सोच यिनीहरूमा पटक्कै छैन। अहिले भ्रष्टाचार वृद्धिको रफ्तार व्यापक बढ्दै गएको छ ।

राजनीति र भ्रष्टाचार एकअर्काको परिपूरकका रूपमा स्थापित गराइएको छ । हिन्दु धर्मलाई विदेशीको प्रभावमा पारी पाखा लगाइएको छ । जसको कारणले नेपालको राजनीतिबाट नैतिकता र सद्विचार लोप भएर गएको हो। अहिलेको संविधान, राजनीतिक दलका केही नेता, मौजुदा निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र संघीयताका कारण मुलुक असफलताको भिरालो बाटोतर्फ चिप्लिन थालेको हो। राजनीतिबाट धर्मलाई वञ्चित गरिएकै कारण मुलुकमा चरित्रहीनका हातमा पार्टी वा मुलुकको सत्ता पुगेको छ।आजको परिस्थिती निम्त्याउनमा जनता होइन , राजनीतिक दलहरु नै दोषी हुन । यसर्थ , अव सवै असन्तुष्ट दल , राजा र धर्म समेतलाई समेट्ने काम गरिएन भने नेपालवाट दलीय ब्यवस्था नै असफल हुने संकेत देखिन्छ । शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।