शान्ता चौधरी र भगवती न्यौपानेका गीत सार्वजनिक (भिडियो सहित)

१५ आश्विन २०७६, बुधबार ०९:४१

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी र नेकपा नेतृ भगवती न्यौपानेद्वारा लिखित गीतको श्रव्यदृष्य सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गीत सार्वजनिक भएको हो ।


एकसाथ चारवटा गीत रिलिज भएका थिए । चारवटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन् । सांसद चौधरीले आफ्नो जीवनको पूवाद्र्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छिन् । आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन् । यसैगरी न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन् । अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ ।

सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा सवैप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ । न्यौपानेद्वारा रचित एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ । गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोहरुको सम्पादन विष्णु शर्माले गरेका हुन् ।