युवा वैज्ञानिक स्वदेश फर्कनु पर्छः उपराष्ट्रपति पुन

४ कार्तिक २०७६, सोमबार १५:०१

काठमाडौँ , उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आग्रह गर्नु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आजदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति पुनले भन्नु भयो, ‘नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ, घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ, विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।’

बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै उहाँले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको बताउनु भयो ।