बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद साह रिहा

१ कार्तिक २०७६, शुक्रबार १६:०६

जनकपुरधाम , जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका सांसद प्रमोदकुमार साह रिहा हुनु भएको छ । साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा शुक्रबार रिहा गरेको हो।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साहलाई जिल्ला अदालत धनुषाका न्यायाधीश तेजप्रसाद पौडेलको एकल इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भए लगत्तै साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

गत सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान ढिलो (डिले) भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साह मंगलबार काठमाडौंस्थित त्रिभुव नअन्तर्राष्ट्रि विमानस्थलबाट पक्राउ पर्नु भएको थियो ।

पक्राउ लगत्तै उनलाई जनकपुर ल्याइएको थियो। बुधबार जिल्ला अदालत धनुषाले उनलाई चार दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

नागरिक उडड्यन प्राधिकरणले सांसद साहमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। सांसद साह पक्राउ परेपछि राजपा नेपालका कार्यकर्ताले विरोध गर्दै आएका थिए।