प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने

१४ कार्तिक २०७६, बिहीबार १५:५९

काठमाडौं , नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु भएको छ ।
बुधबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहीबार दिउँसो अस्पताल पुग्नु भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेर निस्कने क्रममा प्रचण्डले प्रधानमन्त्री आजै बालुवाटार फर्किने जानकारी दिनु भएको हो । ‘चिकित्सकले प्रधानमन्त्रीको डिस्चार्ज आजै हुने जानकारी दिनुभएको छ’, प्रचण्डले भन्नु भयो , ‘उहाँ आजै बालुवाटार फर्किनु हुन्छ।’

प्रचण्डले बुधबार र बिहीबार गरेर प्रधानमन्त्रीको दुई पटक डायलासिस भएको जानकारी गराउनु भएको छ ।
‘प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ’, प्रचण्डले भन्नु भयो, ‘अब नियमित डायलासिस गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा चिकित्सकले केही बताउनु भएको छैन।’