पूजामाथि सामूहिक बलात्कार भएको अदालतको ठहर

८ कार्तिक २०७६, शुक्रबार ०९:३८

काठमाडौं, सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ।

यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालत न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो।

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ। इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ।

मुलुकी अपराध संहितामा कुनै व्यक्ति कुनै कसुरमा अदालतबाट कानुनबमोजिम कसुरदार ठहर भइसकेको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ।

सुरुमा जिल्ला अदालत बैतडीले भट्ट र अवस्थीविरुद्ध १३ वर्ष सजाय र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालतले तोकेको सजाय र जरिवाना उल्टी गर्ने सर्वोच्चले आदेश गरेको छ।

सर्वोच्चको सोही इजलासले एक महिनाभित्र सजाय निर्धारण गर्ने कानुनी व्यवस्था छ।

‘जिल्ला अदालतले ठहर गरेको कसुर सर्वोच्चले सदर गरेको छ। सजाय भने पुनः निर्धारण गर्नेछ। एक महिनाभित्र सोही इजलासले सजाय निर्धारण गर्नेछ’ सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले भने।

बलात्कारमा परेकी किशोरीले पूजा बोहोराको नामबाट २०७१ पुस १ मा सञ्चारमाध्यममार्फत आफूले न्याय पाउने कि नपाउने भनी तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई सार्वजनिक पत्र लेखेकी थिइन्।

मुद्दा फैसलाकै दिन उनको पत्र सञ्चारमाध्यमबाट बाहिरिएपछि सर्वोच्चले पेसीबाटै मुद्दा हटाएको थियो। उनले न्याय माग्दै आफूलाई सामूहिक बलात्कार गर्नेहरुको नामै किटान गरी सार्वजनिक सञ्चारमाध्यममा लेखिएको पत्र चर्चित बनेको थियो।

२०६८ साल चैतमा एसएलसी दिने क्रममा बैतडीकी १४ वर्षीया पूजा दुईजनाबाट बलात्कृत भएकी थिइन्। बैतडीको पाटन बजारमा गेसपेपर किन्न जाँदा उनी सामूहिक बलात्कारमा परेकी थिइन्। बलात्कृत भएको ८ वर्षपछि पूजाले न्याय पाएकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।