पार्किङ गरेर राखेका मोटरसाइकल र साइकलमा आगजनी

२३ आश्विन २०७६, बिहीबार ११:४८

धनुषा , पार्किङ गरेर राखिएको नौ वटा मोटरसाइकल र चार वटा साइकल जलेर नष्ट भएको छ । जनक नन्दनी गाउँपालिका–३ मा मोटरसाइकल र साइकल जलेर नष्ट भएका हुन । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहित नौ जनाको मोटरसाइकल र साइकल जलेको प्रहरीले जनाएको छ ।

चार वटा नेपाली, चार वटा भारतीय र एउटा वडाध्यक्ष चढ्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल र अन्य चार ओटा साइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन थापाले जानकारी दिनुभयो ।

बुधबार राति करिब ३ बजे मोटरसाइकल जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा बिजुलीको तारसमेत चुँडिएको देखिएकाले बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।