न्यायाधीश शाही बर्खास्त

२ कार्तिक २०७६, शनिबार १०:४५

काठमाडौं , क्षेत्राधिकार बाहिरको मुद्दा हेरेको र फैसला अगावै जानकारी गराएको ‘म्यासेज’ भेटिएपछि न्यायाधीश नरबहादुर शाही बर्खास्तीको सिफारिसमा परेका छन् । क्षेत्राधिकार मिचेर गोर्खा बु्रअरीका मुद्दा हेरेको भन्दै छानबिनमा तानिएका उच्च अदालत पोखराका तीनजना न्यायाधीशमध्ये शाही ‘खराब आचरण’को आरोपमा बर्खास्तीको सिफारिसमा परेका हुन् ।

अन्य दुई न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले भने छानबिन सुरु भएपछि पदबाट राजीनामा दिएका थिए । राजीनामा दिइसकेकाले उनीहरूको बारेमा न्यायापरिषद्ले निर्णय गरेको छैन । चितवनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णय विरुद्ध परेको निवेदनमा सुनुवाई गरेको भनी गत साउन ९ गते सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशहरूलाई न्यायपरिषद्मा झिकाउन आदेश गरेको थियो ।

प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भीर त्रुटी गरी आदेश गरेको देखिएको भनी तीनैजना न्यायाधीशलाई न्यायपरिषद्को सचिवालयमा झिकाई छानबिन गर्ने आदेश भएको थियो । न्यायाधीश सपना मल्ल प्रधानले गरेको छानबिनमा शाहीले आदेश सुनाउनुभन्दा अगाडि नै म्यासेजबाट सन्देश पठाएको पाइएको उल्लेख गरेकी छन् । उनले तयार पारेको प्रतिवेदनअनुसार मुद्दाको आदेश नहुँदै न्यायाधीश शाहीले ‘काम भयो, हस्ताक्षर हुन बाँकी छ’ भन्ने म्यासेज गरेको भेटिएको छ । न्यायापरिषद्ले पनि सोही विषय उल्लेख गर्दै ‘खराब आचरण’को आरोपमा कारबाही सिफारिस गरेको हो ।

‘छानबिनमा परेकामध्ये दुई जनाले राजीनामा दिएकाले उहाँहरूका बारेमा बोल्नु परेन’ न्यायपरिषद्को निर्णयबारे एक सदस्यले भने, ‘नरबहादुर शाहीका हकमा ‘खराब आचरण’को विषयमा बर्खास्त गर्न सिफारिस गर्ने निर्णय भएको हो ।’ परिषद्को निर्णयअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बर्खास्त गर्नेछन् । न्यायपरिषद्को आदेशको वैधता र धरातलबाट कुनै टिप्पणी गरेको छैन । उच्च अदालतको आदेशबारे सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत नै न्यायिक प्रतिक्रिया दिएको अनि विषयवस्तु सर्वोच्च अदालतमा विचाराधिन रहेकैले छानबिन समिति मुद्दाको विषयवस्तुमा प्रवेश नगरेको बताइएको छ ।

गोर्खा ब्रुअरीकै मुद्दालाई लिएर उनीहरूविरूद्ध परिषद्मा अर्को एक उजुरी पनि परेको थियो । यसैबीच, परिषद्ले एक जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । सुन काण्डमा छानबिन गर्न लामो समय काठमाडौं काजमा तानिएर सफाइ पाएपछि पुनः मुद्दा सुनुवाइ गर्न विराटनर पुगेका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलको स्थानमा नयाँ मुख्य न्यायाधीश नियुक्ति गरिएको छ । परिषद्ले उक्त स्थानमा उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको हो ।सौर्य अनलाइनबाट