नयाँ सभामुखका लागि गृहकार्य सुरु

१ कार्तिक २०७६, शुक्रबार ०९:२२

काठमाडौं, कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिनुभएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामुख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको हो ।

नेपालको संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने प्रावधान छ । सुरुमा सभामुख र उपसभामुख नियुक्त हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै दल थियो तर अहिले दुई दल मिलेर नेकपा भएपछि सभामुख र उपसभामुख कसरी बाँडफाँट गर्ने विषयमापार्टीभित्र छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए।

उपसभामुख पनि नेकपाकै रहनुभएकाले के गर्ने विषयमा पार्टीभित्र परामर्श भइरहेको छ । उपसभामुखलाई राजीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामुख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ ।

तत्कालीन अवस्थामा माओवादी केन्द्रका तर्फबाट महराले सभामुख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाङ्फे उपसभामुख बन्नुभएको थियो । नियुक्त हुने नयाँ सभामुख पनि तत्कालीन माओवादी केन्द्रकै तर्फबाट हुनपर्ने पार्टीमा दबाब छ ।

तत्कालीन एमालेले पनि सभामुखका लागि दाबी गरिरहेको छ । यी विषयमा पार्टीभित्र आन्तरिक छलफल भए पनि नेताहरूले कुनै कुरा बाहिर ल्याएका छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।