टीका लगाउन हिँडेका दम्पतीको खोलाले बगाएर मृत्यु

२२ आश्विन २०७६, बुधबार १०:०१

दैलेख , दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ ।

टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने बताइएको छ ।

घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको शव फेला पारेका हुन् ।