काठमाण्डौ उपत्यकामा चिसो बढ्यो

७ कार्तिक २०७६, बिहीबार १०:२६

?

काठमाण्डौ , काठमाण्डौ उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम मापन गरिएको छ । काठमाण्डौको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै, बिहीबार बिहान जुम्लाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिँदा विराटनगरको भने सबैभन्दा धेरै २२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च पहाडी भेगमा हिमपात भएकाले पनि देशभरीकै तापक्रम घटेको हो । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारण केहिदिन यता नेपालको मौसममा बदली भइरहेको छ । बिहीबार पनि यसको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।

बिहीबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसमविद्को पूर्वानुमान छ । यस्तै, मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।