हामी ‘एक्सन’मा नगए परिवर्तन विरोधीले ‘रियाक्सन’ गर्छन्ः प्रचण्ड

१९ भाद्र २०७६, बिहीबार १३:४५

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न तहका सत्ता सन्चालन गरिरहेका जनप्रतिनिधिहरुले ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको बताउनु भएको छ ।

समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको बताउनु भयो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताउनु भयो । उहाँले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गर्नु भयो ।

जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको पूर्वप्रधानमन्त्री प्रचण्डले स्वीकार गर्नु भयो । उहाँले संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने बताउनु भयो ।