स्वर्गीय नेता भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नु पर्छः माधव नेपाल

११ आश्विन २०७६, शनिबार १७:४८

काठमाडौंँ, पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता माधवकुमार नेपालले स्वर्गीय नेता भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताउनु भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गर्नु भयो ।

०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गर्नु भयो ।

‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भन्नु भयो, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो ।’

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गर्नु भयो । कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गर्नु भएको थियो ।