सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको छः देउवा

१ आश्विन २०७६, बुधबार १९:३८

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो ।

पद्यकन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाँले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड दिनु भयो । लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको आरोपसमेत लगाउनु भयो ।

सभापति देउवाले महिलामैत्री संविधान निर्माण भएको र मुलुकको समृद्धिको लागि महिला पुरुषको समानता अनिवार्य रहेको बताउनु भयो । क्याम्पस प्रमुख धनप्रसाद पण्डितले शिक्षाको क्षेत्रमा पद्यकन्या क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । कार्यक्रममा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।