संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प छैनः माधव नेपाल

२ आश्विन २०७६, बिहीबार १३:३३

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको बताउनु भएको छ । वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नु भयो ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानकार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पार्नु भयो । संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।