विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको छः प्रधानमन्त्री

६ आश्विन २०७६, सोमबार १०:४३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताउनु भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिनु भएको हो ।

राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भए पनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नु भयो । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाइ छ । अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचीमा राख्नुपर्ने उहाँको भनाइ थियो ।

जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनताबीच जागरणको लहर सृजना गर्नुपर्ने बताउनु भयो ।

हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको बजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका वाधक हुन् भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि बढाउन जोड दिनु भयो ।