मिटर ब्याजीको जालोः कयौंको उठिबास, कयौंले गरे आत्महत्या

२४ भाद्र २०७६, मंगलवार ०९:४७

धनगढी, सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा केही वर्षयता फस्टाएको मिटर ब्याजीको जालोले कयौंको उठिवास लगाएको छ।

कयौं व्यक्तिले आत्महत्या गरेका छन भने कयौं व्यक्तिको रहस्यमय मृत्यु भएको छ। मिटर ब्याज सञ्चालन गिरोहका नाइके राजनीतिक पहुँच, प्रहरी अधिकारीसँगको उठबसले गर्दा पक्राउ परेका थिएनन्। ‘मिटर ब्याजीको भयानक जालो र ठगीको कहालीलाग्दो अवस्था छ।

कयौंले आत्महत्या गरेका छन्। कयौं घरवारविहीन भएका छन्। कयौंको घरजग्गा गुमेर सुकमबासी भएका छन्’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा। हेमराज पन्त भन्छन्,‘ जुन रुपमा प्रहरी प्रशासनबाट कारवाही हुनुपर्ने हो त्यो नहुनाले यो धन्दा मौलाएको छ।’

मिटर ब्याजबाट प्रहरी प्रशासन, केही राजनीतिक नेता लगायतलाई पनि फाइदा पुगेकाले यस्तो धन्दा चलाउनेहरु पक्राउ पर्न नसकेको उनी बताउँछन्।

यकिन तथ्यांक नभए पनि मिटर ब्याजीको गिरोहबाट ठगिएर सम्पत्ति सबै गुमाई बिजोग हुनेको संख्या सयौं रहेको जानकार बताउँछन्।

‘मिटर ब्याजीको गिरोहवाट ठगिएर आत्महत्या गर्ने, ज्यान गुमाउने, परिवारमा सम्बन्ध विच्छेद हुने, उठिवास हुने अवस्था डरलाग्दो छ। यकिन तथ्यांक नभए पनि मेरो जानकारीमा सयौं पीडित छन्’,इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी भन्छन्, ‘कम्तीमा आठदसजना पीडितले आत्महत्या गरिसकेका छन्।’

ठगी गर्ने गिरोहका कारण अझै यस्ता घटना दोहोरिन सक्ने उनले बताए। ‘समाजमा भयाभह बनेको यो समस्याबारे प्रहरी प्रशासन, राजनीतिक दलका नेता सबै जानकार छन् तर पनि दोषीमाथि कारबाही भएको छैन’, उनले भने।

धनगढीकै प्रतिष्ठित व्यापारी कामना स्टोरका सञ्चालक मानिष शर्मा मिटर ब्याजी गिरोहबाट ठगिएका कारण पलायन भएको जोशीले बताए।

धनगढीकै होनहार युवा खेम रानाको रहस्यमय मृत्यु पनि मिटर ब्याजीको जालोकै कारण भएको आशंका छ।

थोरै पैसा दिएर झुक्याएर घरजमिन आफ्नो नाममा बनाउने, थोरै पैसा दिएर बढी रकम लिएको भनेर औंठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने धेरै गिरोह धनगढीमा सक्रिय छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।