मलेसियामा नेपालीलाई रोजगारी खुल्यो

२७ भाद्र २०७६, शुक्रबार १०:०४

काठमाडौं, नेपाली कामदारका लागि मलेसियामा रोजगारीको बाटो खुलेको छ। नेपाल र मलेसियाबीच बिहीबार रोजगार खुला गर्ने सहमति भएको श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। विगत १५ महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका थिएनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बायोमेट्रिकलगायत विभिन्न शीर्षकमा कामदारबाट साढे १७ हजार रकम असुल्दै आएका संस्था खारेज गरेका थिए। त्यसपछि नेपाली कामदार मलेसिया जान बन्द भएको थियो।

कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भए पनि स्वास्थ्य परीक्षणमा कुरा नमिल्दा कामदार मलेसिया जान पाएका थिएनन्। मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य हो।

मलेसिया पुरानै संस्थाबाट स्वास्थ्य परीक्षण गराउने अडानमा थियो। नेपाल पुराना स्वास्थ्य संस्थाबाट कामदार नपठाउने पक्षमा थियो।

सम्झौताअघि ३७ स्वास्थ्य संस्थाले मात्रै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दैै आएकामा अब मापदण्ड पुगे ८६ नयाँ स्वास्थ्य संस्था थपिन सक्नेछन्। पुराना संस्थामध्ये एक स्वास्थ्य संस्था बन्द भएका कारण नयाँ मापदण्डमा पर्न सकेको थिएन।

नेपालले नयाँ स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मान्यता दिन पटकपटक आग्रह गरे पनि मलेसियाले बेवास्ता गर्दै आएको थियो। प्राविधिक कमिटी बैठकमा नयाँ थपिएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न नोभेम्बर पहिलो साता मलेसियाली टोली नेपाल आउन सहमत भएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।