नौ करोड ठगीः सय परिवार विस्थापित

१५ भाद्र २०७६, आईतवार ०८:४८

काठमाडौं, सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ।

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो।

कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन्।

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्। कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ। ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन्।

उनीहरूका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका–३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन्। राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए।

पीडित परिवार समस्या बोकेर काठमाडौं आएपछि सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरूलाई न्याय दिलाउन सक्रिय भएका छन्।

‘सरकार र कानुन हुँदा पनि मिटर ब्याज चलेको छ। एउटा व्यक्तिको आतंकले ३ सय घरपरिवार विस्थापित हुने अवस्था आएको छ। यो भन्दा अन्याय के हुन्छ ? प्रवक्ता श्रेष्ठले भने।
यो समाचार आजको नागरिक दैनिकमा छ ।