तीनै तहका सरकारले सुधारका काम अगाडि बढाएका छनः मुख्यमन्त्री शंकर पोखरेल

१२ आश्विन २०७६, आईतवार १९:२९

बुटवल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सुधारका काम अगाडि बढाएको दावी गर्नु भएको छ । रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सो दावी गर्नु भएको हो ।

प्रदेश पाँच सरकारले मात्रै गतवर्ष दुईसय किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख गर्दै उहाँले अब छिटै संघीय सरकारका कामहरु जनतामा देखिने दाबी गर्नु भयो । दुईवटा ठूला पार्टी मिलेर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएकोले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि हमला गरिरहेको आरोप लगाउनु भयो ।

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले एकताबाट अत्तालिएका र निराश भएकाहरुले यो एकतालाई कसरी कमजोर पार्न, नेताहरुलाई बदनाम गराउन नियोजित रुपमा प्रचार अभियान चलाएको आरोप लगाउनु भयो । तत्कालीन एमाले र माओवादी केन्द्रले दुईवटा पार्टीलाई एकताबद्ध गरेर दुनियाँका सामु चुनौती खडा गरेको तर त्यो चुनौतीलाई सामना गर्न कार्यकर्ता पंक्तिलाई तयार गर्न नसकेको उहाँले स्वीकार गर्नु भयो ।