ट्रम्पलाई भेटेपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रशन्न मुद्रामा

९ आश्विन २०७६, बिहीबार ११:०६

न्युयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ।

प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्। रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो। मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो।’

अमेरिकाले उच्चस्तरीय सम्बोधन आरम्भ भएकै दिन हरेक मुलुकको टोली नेताको स्वागतका लागि रात्रिभोज दिने प्रचलन छ। रात्रिभोजमा १ सय ९० भन्दा बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, मन्त्री, राष्ट्रसंघीय महासभा डेलिगेसन प्रमुखलगायत सहभागी थिए।

७२ औं महासभामा नेपालको तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटलको गेटमा पुगेर फर्कनुपरेको थियो। डेलिगेसन हेड तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो न्युयोर्क पुग्दा रात्रिभोजमा महरालाई पठाइएको थियो। तर, उनले प्रवेश पाएनन्।

राष्ट्रसंघको ७४ औं महासभा बैठकको मंगलबार औपचारिक उद्घाटन भएको छ। संघको मुख्यालय न्युयोर्कमा महासभा बैठकका अध्यक्ष तिजानी मोहमद बान्डेले उच्चस्तरीय बैठकको औपचारिक सुरुवात गरेका हुन्।

अध्यक्ष बान्डेले उद्घाटनका क्रममा भने, ‘हिंस्रक द्वन्द्व, आतंकवाद, प्राकृतिक प्रकोप, लागुऔषध, लैंगिक विभेदलगायत जटिल विषयमा हामीले संयुक्त रूपमा समाधान खोज्नुपर्नेछ।’

यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।