घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छः मुख्यमन्त्री शाही

५ आश्विन २०७६, आईतवार १३:५२

फाईल फोटो

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गर्नु भयो ।

मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने ? भनी प्रश्न गर्नु भयो । ‘नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ’, उहाँले भन्नु भयो ‘पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हुँदैन, यसमा पार्टीको पनि भविष्य जोडिएको छ।’

मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।