गाउँपालिका कार्यालय तोडफाडको आरोपमा वडा अध्यक्षसहित ३ पक्राउ

३१ भाद्र २०७६, मंगलवार १४:५१

पोखरा , कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

गत बुधबार लाहाचोकमा रहेको गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा मंगलबार बिहान माछापुच्छ्रे–१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बगरले पोखराको जिरो किलोमिटरबाट उनीहरुलाई पक्राउ गरेको हो । गाउँपालिकाले तोडफोडमा संलग्न भएको भन्दै गएको शुक्रबार ४ जनाविरुद्ध जाहेरी दिएको थियो ।गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, कांग्रेसबाट वडा नम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ र टीकाराम पोडेल विरुद्ध किटानी दिइएको थियो । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सूचना माग गर्दा पर्याप्त रुपमा नदिएको भन्दै कांग्रेस गाउँपालिका सभापति खुसीमान गुरुङको नेतृत्वमा ४०–४५ को संख्यामा पुगेका कार्यकर्ताको टोलीले बुधबार गाउँपालिका कार्यालय तोडफोड गरेको थियो ।

तोडफोडबाट सभाकक्षमा रहेका २५ कुर्ची भाँच्चिएका छन् । सभाकक्षको टेबुल ठाउँ–ठाउँमा प्वाल परेको छ । गुरुङले भदौ १२ मा सूचनाको हकको प्रयोग गर्दै गाउँपालिकाका निर्णय, आर्थिक प्रतिवेदन लगायत सूचना माग गरेका थिए ।